बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई तीन वर्ष जेल सजाय

भ्रष्टाचार अभियोगमा बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई अदालतले साढे तीन वर्ष जेल सजाय र पाँच लाख रुपैयाँ जरिवाना तोकेको छ । दोस्रो चारा घोटाला काण्डमा लालुलाई दोषी ठहर गर्दै झारखण्डको केन्द्रीय जाँचबुझ निकाय सिबिआई अदालतले शनिबार सो सजाय तोकेको हो । न्यायाधीशले भिडियो कन्फरेन्समार्फत लालुमाथिको सजाय सुनाएका थिए । चारा घोटालामा दोषी पाइएपछि लालु दुई सातादेखि झारखण्डको राँचीमा रहेको बिर्सा मुन्डा जेलमा थिए । सिबिआईको अदालतले लालुसहित १५ जनालाई दोषी ठहर गरेको थियो ।

फैसलापछि भाजपाका वरिष्ठ नेता सहनवाज हुसेनले बिहारी जनताले न्याय पाएको टिप्पणी गरेका छन् । ‘बिहारी जनताले ढिलै भए पनि न्याय पाएका छन् । कानुन जोकोहीलाई पनि लागू हुन्छ, कानुनको नजरमा कोही ठूलो र सानो हुँदैन भन्ने सन्देश शनिबारको फैसलाले दिएको छ,’ हुसेनले भने ।

लालुलाई चारा काण्डमा सन् २०१३ को सेप्टेम्बर ३० मा पहिलोपटक अदालतले दोषी ठहर गरेको थियो । सोही वर्षको अक्टोबर ३ मा लालुलाई पाँच वर्ष कैदको सजाय तोकिएको थियो । तर, सो सजायविरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । दुई महिना जेलमा बसेपछि सर्वोच्च अदालतको आदेशमा उनी जमानतमा रिहा भएका थिए । दोषी ठहर भएपछि संसद् सदस्यबाट राजीनामा दिएका थिए । अदालतको फैसलापछि कुनै पनि निर्वाचनमा प्रतिस्पर्धा गर्न अयोग्य साबित भएका थिए । डिसेम्बर २३ मा सिबिआई अदालतले बिहारका अर्का पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्र र अन्य पाँचजनालाई सफाइ दिएको थियो । सो मुद्दामा अदालतले चारजनालाई दोषी ठहर गरेको थियो ।

सन् १९९० देखि १९९४ को बीच देवघर कोषागार (ट्रेजरी)बाट पशुका लागि चारा बाँड्ने नाममा ८९ लाख २७ हजार भारतीय रुपैयाँ निकालिएको थियो । चारा निकासीका लागि नौ सय ५० करोड घोटाला भएको थियो । सो समयमा लालु बिहारका मुख्यमन्त्री थिए । मुद्दा लगाइएकामध्ये ११ जनाको मृत्यु भइसकेको छ ।

बिहीबार अदालत पुगेका लालुले जेलभित्रको दैनिकी कष्टकर बनेको र स्वास्थ्यका कारण दर्साउँदै छिट्टै रिहा गरिदिन न्यायाधीशसमक्ष आग्रह गरेका थिए ।
कानुनविद्हरूले भने लालु अब जमानतमा रिहा हुने सम्भावना नरहेको बताउँदै आएका छन् । यसअघि अदालतले फैसला सुनाउनुअघि तेजस्वीले न्यायपालिकाप्रति आफ्नो पूरा विश्वास रहेको र न्यायपालिकाले आफ्नो कर्तव्य पूरा गर्ने विश्वास व्यक्त गरेका थिए । यसै साता लालुबारे भएका सुनुवाइ दुईपटक स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seventeen =