“राजनीति विकासको बाधक नबनोस् !”

यो मुलूकमा स्वतन्त्र प्राध्यापक, डाक्टर, प्रशासक, वकील, पत्रकार, कलाकार र जनता समेतको खडेरी लाग्यो। सबका सब राजनितिक दलका खोटा कार्यकर्ता मात्रै भए। भात-भान्सामा समेत राजनीति घुस्नु, स्कूलमा, अफिसमा, मन्दिरमा, मस्जिदमा, चर्चमा, अस्पतालमा अनि घाटमा समेत राजनीतिको कालो छायाँ पर्नु विकास हैन अविकासको सूचक हो। अचेल हरेक ब्यक्ति, परीवार, समाज, सम्बन्ध, संघ-संस्था, संगठनहरु राजनैतिक गुटवन्दी र फुटवन्दीले प्रभावित हुनु विचारणीय पक्ष हो।

राजनीतिक नियुक्तिको नाममा होस् वा अरु कुनै पनि आवरणमा राज्य संयन्त्रका हरेक अवयवहरुमा द्रब्यपिशाची दलाल एवम् शक्ति र सत्ताका बिचौलियाहरु घुसेर बितण्डा मच्चाउन थालेपछि कुनै पनि मुलुक भित्रभित्रै धमिराले धुल्याएको धोद्रोसरी बन्न पनि कति समय पो लाग्ला र ! विकासविदहरु भन्छन्, विकासका ५/७ वटा आयामहरु हुन्छन्। तिनीहरु हुन् आर्थिक, सामाजिक/सांस्कृतिक, राजनैतिक, मानवीय, पर्यावरणीय आदि। राजनीति यिनै आयामहरु मध्येको विकासको १ महत्वपूर्ण आयाम मात्रै हो, सबैथोक होइन।

सर्वाङ्गीण विकासको लागि सुझबुझपूर्ण र इमानसहितको राजनीति महत्वपूर्ण छ। तथापि यो आफैंमा साध्य नभएर उच्चतम मानवीय मूल्य हाँसिल गर्न पथ प्रदर्शन गर्ने एउटा साधन मात्रै हो। राज्यका हरेक नागरिक राजनैतिक रुपमा सचेत हुनु जरुर पर्छ। यद्यपि समाजका हरेक तह-तप्का र अवयवमा राजनीति गिजोल्नु भनेको चैं विकास नभै अविकास हो र सामजिक पछौटेपनको गतिलो सूचक पनि हो।

अर्कोतर्फ विकासको अन्तिम लक्ष भविष्यका लागि समेत पर्यावरणीय सन्तुलनको सुनिश्चितता कायम गर्दै बर्तमानमा समृद्धशाली संसारको रचना गरी सचेत विश्व नागरिकका छनौटका दायराहरु फराकिलो पार्नु र अन्ततोगत्वा उच्चतम् मानवीय मूल्य हाँसिल गर्नु नै हो र हुनुपर्छ पनि।

अतः यो वा त्यो वादको नाममा राजनीति विकासको लागि बाधक नबनोस्, राजनीतिको आवरणमा दलाली नमौलाओस् अनि नीतिहरुको पनि नीति ‘राजनीति’ डुङ्डुङ्ती नगनाओस्। बरु राजनिती विकासका सम्पूर्ण आयामहरुको नेतृत्व गर्दै विकासको साधक/साधन बनोस् र त्यसको विश्वनेतृत्व नेपाली मूलको नेताले नै गर्न सकोस्। बस् ! शुभकामना ।